fbpx

विशाल बंगला होस् वा झुपडी, हरेक मान्छेलाई घर अनिवार्य चाहिन्छ । तर, नेपालमा कति प्रतिशत मान्छेको आफ्नै घर छ ? कतिप्रतिशत भाडामा बस्छन् ? कति घरविहिन छन् ? भरपर्दो तथ्याङ्क सायद नेपाल सरकारसँग पनि छैन होला ।

तर, बेलाबेला उठ्ने सुकुम्बासीको समस्याले हामी यो अन्दाज लगाउन सक्छौँ कि घरको स्वामित्वको समस्या नेपालमा ठुलै छ ।

नेपालमा मात्र होइन होम अनरसिप विश्‍वमै ठुलो विषय हो । घरविहिन (होमलेस)हरुको जनसख्या पश्चिमी मुलुकमा पनि ठुलै छ । यसको मुख्य कारण भनेकै संसारमै रियलस्टेट एकदम महँगो बन्‍नु हो । जग्गा किन्‍ने र घर बनाउने विश्‍वभरका मान्छेको मुख्य लक्ष्य हुन्छ ।

नेपालमा पनि काठमाडौं उपत्यकामा रिङरोडबाट ४/५ किलोमिटर दुरीमा एउटा ४ आनाको घडेरी किनेर घर बनाउन करिव २ करोडसम्म लगानी गर्नुपर्छ । विश्‍व बजारसँग तुलना गर्ने हो भने यो मूल्य कम नै हो । केहि वर्षअघि मेरा एक जना आफन्तले अष्टेलियामा कुनै शहरभन्दा अलि परको ठाँउ (ग्रामिण क्षेत्र भनौँ) मा घर किन्दा करिब १२ करोड नेपाली रुपैयाँ खर्च गर्नु भएको थियो । अहिले त्यो मुल्य पनि पक्कै बढ्यो होला ।

तर, विदेशमा जे सुकै भए पनि नेपालीहरुको आम्दानीको अनुपातलाई आधार बनाएर हेर्दा नेपालमा घर बनाउन धेरै नै महँगो पर्ने गरेको छ ।

कारण के हो त ? साँच्चिकै घर बनाउन महंगो नै हो कि नबुझेर फसिरहेका छौं कि ? आज हामी तपाईंलाई घर बनाउन महंगो पर्नुका केही कारणहरु जानकारी गराउन गइरहेका छौं ।

घर बनाउन महँगो पर्नुका केहि कारणहरु

१. निर्माण सामाग्रीमा विविधता

हुन त घर बनाउने काम महँगो नै हो । त्यसमा पनि नेपालमा आवास सम्बन्धी कुनै कडा मापदण्डहरु पनि छैनन् । त्यसैले यहाँ सबैले आ–आफ्नै तरिकाको आफ्नो साेँचअनुसारको घर बनाउछौँ । घरमा प्रयोग हुने सामानहरु आफ्नो इच्छा अनुसारको मात्र राख्‍न खोज्छौँ । साधारण सामाग्री प्रयोग गरेर बनाउने र उस्तै घरमा अलि धेरै लक्जरी सामान राखेर बनाउनुमा मुल्य धेरै त पर्ने नै भयो । हामीले प्रयोग गर्ने टायल, मार्बल, पार्केटिङजस्ता सामानको मुल्य पनि त थरि थरिका हुन्छन् ।

अर्को कुरा नेपालमा आफ्नो घर आफैले बनाउने चलन छ । अलि विकसित मुलुकहरुमा निर्माण कम्पनीहरुले बनाएको घर किन्‍नुपर्ने वा आफै बनाउनेहरुलाई घरको गुणस्तर कायम गर्न निर्माण कम्पनीमार्फत मात्र बनाउनुपर्ने नियम हुन्छ । यसरी निर्माण कम्पनीले बनाउदा निर्माण सामाग्रीहरुमा एकरुपता आउने हुन्छ । जसले गर्दा समग्रमा घर सस्तो हुन जान्छ ।

आफ्नो घर आफै बनाउँदा बजारबाट विभिन्‍न थरिका सामान छानेर थोरै परिमाणमा प्रयोग गर्दा मूल्य बढि नै पर्न जान्छ । जस्तै, हाम्रा जस्तै निर्माण कम्पनीमार्फत घर बनाउदा एक जना क्लाइन्टलाई बाथरुममा सेतो टायल मन पर्छ, उहाँले भनेजस्तो टायल खोजेर ल्याउछौँ, अर्को क्लाइन्टलाई अर्कै कलर र डिजाइनको टायल मन पर्छ, त्यस्तै खोजेर हाल्छाैँ, अर्को क्लाइन्टलाई बाथरुममा ठुला–ठुला टायल राख्‍न मन पर्छ, हामी मार्केटबाट त्यस्तै टायल खोजेर प्रयोग गछौँ ।

यसरी एकै पटक बनिरहेको घरहरुमा एकै डिजाइनको टायल प्रयोग गर्न नपाएपछि छुट्टाछुट्टै पसलबाट थोरै थोरै टायल किन्‍नुपर्ने हुन्छ, जुन महँगो पर्न जान्छ । तर, त्यसको सट्टा सबै घरमा एउटै डिजाइनको टायल प्रयोग गर्न पाएको भए एउटै घरलाई किन्‍न‍े रेट भन्दा ८-१० वटा घरमा लाग्‍ने टायल किन्दा पक्कै पनि रेट धेरै सस्तो पाइन्थ्यो होला । त्यस्तै अरु सामान पनि त्यसरी नै सस्तो पर्न जान्थ्यो अनि न घर सस्तो बन्‍न सक्थ्यो । यसरी काम नगर्दा निर्माण सामाग्रीको रेट महँगो नै पर्ने हो ।

२. घरको नक्सा डिजाइन

सुन्दा अचम्म लाग्‍न सक्छ, तर घरको डिजाइनले पनि खर्चमा तलमाथि हुन्छ । एउटा इन्जिनियर आर्किटेकले नक्सा डिजाइन गर्दा पहिला सुरक्षा र त्यसपछि लगानीलाई विचार गर्नुपर्छ । तर, हाम्रोमा त्यस्तो चलन छैन । नक्सा बनाउँदा त्यस्ता कुरा नसोँची जथाभावी नक्सा बनाउँदा आर्किटेकले ‘आखिर मेरो पैसा जाने होइन, घरधनीकै जाने हो क्यारे’ भन्‍ने मानसिकताले नक्सा बनाउदा पनि खर्च अत्याधिक भएको हुन सक्छ ।

उदाहरणको लागि, १२ वटा पिलरले पुग्‍ने ठाँउमा १५-१६ वटासम्म पिलर राखिदिने, १६ एमएम डन्डीले पुग्‍ने ठाँउमा २०-२५ एमएमको डन्डी राख्‍ने, ८ सय स्क्वायर फिट घरले पुग्‍ने ठाँउमा १ हजार स्क्वायर फिट पुर्याइदिने र घटाउनेतिर ध्यान नदिनेजस्ता आर्किटेक इन्जिनियरले डिजाइनकै चरणमा गरेको गलत डिजाइनले पनि समग्र रुपमा घर बनाउन महँगो परेको हुन्छ ।

इन्जिनियर आर्किटेक अनुभवी परेनन् भने यस्तो समस्या धेरै नै आउँछ । विशेष गरि धेरै सस्तोमा नक्सा डिजाइन गरिदिने मान्छेको पछि लाग्दा धेरै घरधनीहरु अप्रत्यक्ष रुपमा झन् धेरै महँगोमा परिरहेका हुन्छन् । यस्तो कुरामा पनि ध्यान पुर्याउनु जरुरी छ ।

३. फरक–फरक आकार प्रकार र क्षेत्रफलको जग्गा

घरको लागतलाई असर गर्ने अर्को मुख्य कारण जग्गाको क्षेत्रफल र आकार पनि हो ।

३० फिटको मोहडा र ३४ फिट पिछाड भएको जग्गा पनि ३ आना नै हो । ३४ फिट मोहडा र ३० फिट पिछाड भएको जग्गा पनि ३ आना नै हो । तर, यो दुईवटा जग्गामा बन्ने घर एकदम फरक डिजाइनको हुन्छ ।

त्यस्तै २५ फिट मोहडा र ४१ फिट पिछाड भएको ३ आना जग्गामा ३० फिट मोहडा अनुसारको नक्साको घर बनाउन मिल्दैन । त्यसैले, नेपालमा हरेक जग्गामा छुट्टा छुट्टै नक्सा बनाउन जरुरी हुन्छ । अझ जग्गाको आकार चारपाटे नभई कुना काप्चा परेको रहेछ भने त नक्सा बनाउन पनि असाध्यै गाह्रो हुन्छ ।

यस्तोमा हरेक घरले छुट्टा छुट्टै नक्सा प्लानिङ, डिजाइन गर्नुपर्दा, डिजाइनको लागत पनि छुट्टाछुट्टै पर्छ । यसको सट्टा यदि सरकारले आवासिय क्षेत्र छुट्याइदिने र जग्गाको पनि आकार प्रकार मिलाएर एकनासको बनाएर दिने भए एउटै नक्सा अनुसारको धेरै घर बनाउन सकिन्थ्यो जसले लागत केहि घट्न जान्थ्यो । सरकारले उपलब्ध गराएको निश्चित ठाँउमा एउटै नक्सा डिजाइन अनुसारको घर निर्माण गर्ने हो भने लागत कम पनि पर्छ ।

४. मौसमी लेवर

घर निर्माण गर्ने लेवर र मिस्त्रीहरु पनि भनेको बेलामा पाइदैनन् । पाइहाले पनि राम्रो काम गर्ने पाइदैनन्, साथै उनीहरुलाई पनि एक ठाँउमा कमाइले पुग्दैन । बर्खा मौसममा रोपाई गर्न गाँउ जाने र हिउँदमा धान काट्न फेरी जाने, एकपल्ट गएपछि महिना दिनसम्म नफर्किने जस्ता समस्या कामदारमा देखिन्छ ।

यसले गर्दा चाहिएको बेला लेबरको सप्लाई राम्रो नहुँदा आफ्नो काम गराउन धेरै दुख गरेर लेबर मिस्त्री खोज्‍नु पर्ने हुन्छ । अर्थतन्त्रको नियम नै हो सप्लाई घटेको बेला र डिमाण्ड हाइ भएको बेला रेट महँगो हुने नै भयो । अनि यसरी धेरै समय लेबर मिस्त्री कुरेर बित्ने भएपछि घर बनाउन समय पनि धेरै लाग्‍ने भयो ।

५. ढुवानीमा समस्या

नेपालको अर्को समस्या हो ढुवानी । विशेष गरि काठमाडौँ उपत्यकामा ठुला टिप्परहरुबाट दिउँसोको समयमा ढुवानी गर्न पाइदैन । मध्य रातमा मात्र सामान आपुर्ति हुन्छ । मानौँ मेचम्चीबाट बालुवा बोक्नु पर्यो भने २४ घण्टा मा १ पटक मात्र आवतजावत गर्न भ्याइन्छ । धेरै कमले मात्र आवश्यक भएमा हतार हतार गरेर दोस्रो टिप ढुवानी गर्छन् ।

दिनमा एकपल्ट मात्र गुडाएर सामान बोक्दा महिनामा ३० टिप हुने भयो त्यो ३० टिपबाट गाडिमा तेल हाल्ने, मर्मत गर्ने, ड्राइभर र अरु कर्मचारीको तलब, डिपोको भाडा, गाडिको किस्ता, नाफा सब निकाल्न पर्ने हुदाँ ढुवानीको रेट महँगो छ जसले गर्दा वालुवा गिट्टीको मुल्य पनि धेरै पर्छ ।

यस्तै, सिमेन्ट, डन्डी काठमाडौँ भ्यालीमा ल्याउँदा पनि ठुलै गाडी आउने र यहाँ बाटो साँघुरो हुने हुदा दिउँसोको समयमा मुख्य बजारमा भित्र पस्‍न असम्भव हुन्छ । यसले गर्दा त्यस्ता गाडिको समस्या उहि हो । थोरै टिप मै बढी मुनाफा निकाल्नु पर्ने भए पछि महँगो शुल्क तिर्न त सर्वसाधारणले नै हो । निर्माण सामाग्रीको सहज आपुर्तिको व्यवस्था सरकारले मिलाउने हो भने घर बनाउन लागत पक्कै घट्ने थियो ।

यस्ता थुप्रै साना ठुला कारणहरुले घर निर्माणलाई महँगो बनाउँछन् । यि मध्ये कुरा त घर धनि को हात भन्दा बाहिरका कुरा हुन । तर केहि साना तिना कुरामा ध्यान दिने हो भने निश्चित रुपमा घर बनाउने लागतमा कमी ल्याउन सकिन्छ ।