मान्छेले जीवनभरको कमाई खर्चिएर बनाइने घर राम्रो र बलियो होस् भन्ने चाहाना राख्नु स्वभाविक हो । करोडौंको लगानी सुरक्षित हुनुपर्छ । तर, हामीले घर बनाउने क्रममा सानो मात्र गल्ती गर्यौं भने पनि घर बलियो नहुन सक्छ ।
घर बनाउँदा निर्माण सामाग्रीहरुको छनोट, त्यसको प्रयोग र निर्माण प्रकृयामा निकै ध्यान दिनुपर्ने हुन्छ ।
घर बनाउने क्रममा कंक्रिटको काम अत्यन्त महत्वपूर्ण हुन्छ । कंक्रिट भनेको सिमेन्ट, बालुवा, गिट्टी र पानीको घोल हो । हामीले मात्रा मिलाएर सबै सामाग्रीहरुको मिश्रण गर्न सक्यौं भने मात्र घोल राम्रो बन्छ । घर कति बलियो हुने भन्ने कुरा कंक्रिटको गुणस्तरले पनि निर्धारण गर्छ ।
भूकम्पबाट सुरक्षित रहनका लागि पनि कंक्रिटको काम गुणस्तरीय हुनुपर्छ । कमजोर कंक्रिटिङ गरेको खण्डमा भूकम्पजस्तो प्राकृतिक घटनामा छिट्टै नै संरचना भत्किने हुन सक्छ । हुन त भूकम्पबाट सुरक्षाको लागि डन्डीको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ, तर आज हामी कंक्रिटमा आधारित भएर निर्माण कार्यको चर्चा गर्दै
छौं ।
घर निर्माण गर्दा जगदेखि नै कंक्रिटको काम हुन्छ । सबैलाई थाहा भएकै कुरा हो, घर बनाउँदा प्रायः सिमेन्ट कंक्रिट (सिमेन्ट, बालुवा र गिट्टिको मिश्रण) प्रयोग हुन्छ । सिमेन्ट, बालुवा र गिट्टिलाई पानीसँग घोलेर प्रयोग गरिने हुँदा यसको भौतिक अवस्था गिलो हुन्छ र यसलाई अड्याउनको लागि फर्माको सहयोग लिनुपर्ने हुन्छ ।
फुटिङ, हात्तिपाइले, पिल्लरजस्ता जमिनमा बस्ने संरचनामा फर्माले दायाँ बायाँबाट सपोर्ट दिनुपर्छ भने स्ल्याब, बिम, ढलानमा तलबाट पनि सपोर्ट (टेको) दिनुपर्छ । तलबाट सपोर्ट दिँदा फर्मालाई पनि टेका लगाएर अड्याउन पर्ने हुन्छ ।
यो त सबैलाई थाहा भएकै कुरा हो । तर, यसरी लगाएको टेको कति दिनपछि निकाल्न मिल्छ भन्ने प्रश्नको जवाफ भने धेरैले थाहा नहुन सक्छ । त्यसैले कसैले १४/१५ दिन र कसैले घर बलियो हुन्छ भनेर २०/२५ दिनदेखि १ महिनासम्म पनि ढलानको फर्मा (टेका) ननिकालेको देखिन्छ ।
तर, त्यति धेरै डराउनु पनि पर्दैन ।
भवन निर्माणको गुणस्तर राम्रो होस् भनेर नियमन गर्न नेपाल सरकारले विभिन्न कोड/नियमहरु पलना गर्नु भन्ने निर्देशन दिएको छ । नेपालमा प्रायः धेरै ठाउँमा भारतीय कोड नै अनुसरण गरिन्छ । तर, यसै बर्ष नेपाल सरकारले आफ्नै भवन निर्माण संहिता जारी गरिसकेको छ ।
कंक्रिटको गुणस्तर नियमन गर्न ‘भारतिय मानक ब्युरो’ ले निकालेको आइएस ४५६ प्रयोग हुन्छ (हाल यसको नयाँ संरक्षण आइएस४५६ः२०२१ लागू भएको छ) । कंक्रिट कस्तो बनाउने, कसरी बनाउने, पानी कति हाल्ने, कंक्रिटलाई बलियो बनाउन कस्ता केमिकल थप्ने, सिमेन्ट लगायतका सामाग्री भण्डारण कसरी गर्ने, कंक्रिटको मिश्रण कसरी र के आधारमा गर्ने, फर्मा/टेका कसरी लगाउने, कंक्रिट कसरी स्थानान्तरण गर्ने, केयरिङ कसरी गर्ने, धेरै गर्मी र धेरै चिसोमा कसरी कंक्रिट प्रयोग गर्ने, कंक्रिट कति बलियो हुनुपर्ने, बिम/स्ल्याबजस्ता संरचनाका प्रकार र तिनको निर्माण कसरी गर्ने जस्ता धेरै प्राविधिक विश्लेषणको विस्तृत गाइडलाइन आइएस४५६ हो ।
यो गाइडलाइन भन्दा पनि यो भवन निर्माण संहिता हो ।
यहि आइएस४५६ ले ढलानमा फर्मा/टेका कति दिनसम्म राख्ने भन्ने निर्देशन दिएको छ ।
सामान्य अवस्थामा र तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल नजाने समयमा ओपीसी सिमेन्टले ढलान गरेको ठाउँमा निम्नअनुसार फर्मा/टेका राख्ने र निकाल्ने गर्न सकिन्छ ।
ओपीसी सिमेन्ट नभई अरु सिमेन्ट प्रयोग गरेको भए वा वातावरणको तापक्रम १५ डिग्रीभन्दा थोरै भएको बेला भने फर्मा/टेका केहि दिन बढी राख्नुपर्छ ।
तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल नजाने समयमा :
क्र.सं. | फर्माको किसिम | कति समयपछि निकाल्ने |
१ | पिल्लर, बिम र वालको ठाडो (भर्टिकल) फर्मा | १६–२४ घण्टा |
२ | स्ल्याबको तलको फर्मा (फर्मा निकाल्ना साथ टेकालगाउनु पर्ने) | ३ दिन |
३ | बिमको तलको फर्मा (फर्मा निकाल्नासाथ टेका लगाउनु पर्ने) | ७ दिन |
४ | स्ल्याबको टेका | |
(क) ४.५ मिटरसम्मको स्ल्याब | ७ दिन | |
(ख) ४.५ मिटरभन्दा बढीको स्ल्याब | १४ दिन | |
५ | बिमको टेका | |
(क) ६ मिटरभन्दा छोटो | १४ दिन | |
(ख) ६ मिटरभन्दा लामो | २१ दिन |
फर्मा/टेका कति दिन राख्ने र कहिले निकाल्ने भन्ने कुरा आफ्नो प्राविधिकसँगको सल्लाहमा मात्र निर्णय गर्नु उपयुक्त हुन्छ । आफ्नो निर्माणको कामको सधै इञ्जिनियरबाट सुपरिवेक्षण गराउनु होला ।