fbpx

पहिलोचोटी घर बनाउन लागेकालाई सुझाव– अनुभवी इन्जिनियरको भर पर्नुस्, जग्गाअनुसार डिजाइन गर्नुस्, वास्तुको चरक्करमा दुःख नपाउनुस् !

यदि तपाइँ आफ्नो घर सुविधासम्पन्‍न बनाउन चाहानुहुन्छ भने डिजाइनको क्रममा ‘फ्लोर प्लान’मा धेरै ध्यान दिनुपर्छ । घरको डिजाइन गर्दा फ्लोर प्लानमा चुक्नुभयो भने घर तपाइले चाहेजस्तो बन्दैन । 

घरमा लिभिङ रुम, बेडरुम, बाथरुम, किचन कस्तो डिजाइन र कुन साइजको बनाउने भनेर तपाइले पहिल्यै फ्लोर प्लान बनाउनुपर्छ । यदि तपाइले अनुभवी आर्किटेकसँग गएर आफ्ना आवश्यकताहरु भन्‍नुभयो भने उसले राम्रो फ्लोर प्लानिङ गरिदिन सक्छ । दक्षता नभएका आर्किटेक्टले राम्रो फ्लोर प्लान गर्न सक्दैनन् । 

अनुभवी आर्किटेकले जग्गाको आकार प्रकार अनुरुपको घर डिजाइन गरिदिन सक्छन् । तपाइको जग्गा नमिलेको भए पनि दक्ष आर्किटेकले डिजाइन गर्न पायो भने सकेसम्म राम्रा कोठाहरु बनाइदिन सक्छन् । 

धेरैले फ्लोर प्लान गर्दा केही गल्तीहरु गर्ने गर्छन् जसले गर्दा घर सोँचे अनुरुपको बन्दैन् । आज हामी फ्लोर प्लान गर्दा गरिने गल्तीहरुका बारेमा चर्चा गर्न गइरहेका छौं जुन तपाइका लागि फलदायी हुन सक्छ ।

१) थोरै जग्गामा धेरै कोठा खोज्‍नु

यस्तोे चाहना राख्नु घर डिजाइनको क्रममा गरिने सबैभन्दा ठूलो गल्ती हो । धेरैको चाहना हुन्छ, घरमा सकेसम्म बढी कोठाहरु होउन् । तर, सानो क्षेत्रफलको जग्गामा धेरै कोठाहरु निकाल्दा साना कोठाहरु निस्कन्छन् जुन कोठाले तपाइँको अवाश्यकता परिपूर्ति नगर्न सक्छन् ।

ग्राहकले सानो क्षेत्रफलमा पनि धेरै कोठा खोजेमा आर्किटेकले राम्रो फ्लोर प्लान गर्न सक्दैनन् । आर्किटेकले ग्राहकले भनेजति कोठा निकाल्दा साँघुरा र नमिलेका कोठाहरु बन्‍न जान्छन् । कोठा सानो र अँध्यारो हुन्छन । खुलापन हुँदैन । त्यसैले घरको डिजाइन गर्दा अनुभवी आर्किटेक्टको सुझाव लिनुपर्छ ।  

२) वास्तुमा बढी झुकाव

सबै जग्गामा वास्तु सत् प्रतिशत मिलाउन सकिदैन । सानो जग्गामा धेरै वास्तु मिलाउन खोज्दा घर बिग्रिने सम्भवना रहन्छ । कतिपय अवस्थामा तपाइको जग्गाको आकार प्रकार अनुसार घरको डिजाइन गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा बास्तु नमिल्न पनि सक्छ ।

तपाइ हामीले घर बनाउँदा किचन, ट्वाइलेट र भर्‍याङमा बास्तु मिलाउनुपर्छ, अरुमा सम्भव भएमात्र वास्तु मिलाउने हो । वास्तुको चक्करमा फसेर आफ्नो सपनाको घर बिगार्नु हुँदैन । 

३) सस्तो ठाउँ वा आफन्तकहाँ डिजाइन बनाउन खोज्‍नु

सबैले यो बुझ्नु जरुरी छ कि, जस्तो नक्सा/डिजाइन तयार भयो त्यस्तै घर बन्‍ने हो । त्यसैले घरको नक्सा डिजाइन गर्दा धेरै ध्यान दिनुपर्छ । मान्छेले एक करोडको घर बनाउँदा नक्सा डिजाइनमा एक/डेढ लाख रुपैयाँ खर्च गर्न डराउँछन् । तपाइले डिजाइन राम्रो बनाउनुभएको छ भने मात्र घर राम्रो बन्‍ने हो । 

त्यसैले घर बनाउनुपूर्व दक्ष आर्किटेकबाट डिजाइन गराउनुपर्छ । एक करोडको घर बनाउँदा डिजाइनमा एक/डेढ लाख खर्च हुनु नराम्रो होइन । मान्छेले एक/डेढ लाख खर्च गर्न डराएर आफन्त वा सस्तोमा काम गर्ने डिजाइन खोज्दै हिँड्छन् । 

floor plan

सस्तोमा नक्सा बनाइदिने खोज्दा घर कामै नलाग्‍ने गरी डिजाइन भएको हुन सक्छ । राम्रो आर्किटेक्ट नहुँदा ग्राहक ठगिने वा राम्रो सेवा नपाउने अवस्था हुन्छ । सिकारु मान्छेले नक्सा डिजाइन गर्दा करोडौं खर्च गरेर बनाएको घरबाट पनि सन्तुष्‍टि नमिल्न सक्छ ।

मान्छेले मेरो आफन्त वा चिनेको मान्छे इञ्‍जिनियर छ, उसैलाई घरको डिजाइन बनाउन दिन्छु भन्‍ने प्रवृत्ति पनि छ । तपाइले चिनेको इञ्‍जिनियर सडक, पुल वा हाइड्रोपावर क्षेत्रको भएमा उसलाई घर डिजाइनको राम्रो जानकारी नहुन सक्छ ।

यो पेटको डाक्टरसँग मुटु जँचाउन गएजस्तो हुन्छ । त्यसैले घरको डिजाइन यसै क्षेत्रमा जानेको बुझेको र प्रोफेसनल आर्किटेक्टसँग गराउनुपर्छ । नक्सा घरको ब्लु–प्रिन्ट हो । यदि नक्सा नै राम्रो भएन भने कसरी घर राम्रो बन्ला ?

४) फ्रिल्यान्सरको भर पर्नु 

प्लानिङको काम आर्किटेक्ट र स्ट्रक्चर डिजाइनको काम सिभिल स्ट्रक्चरल इञ्‍जिनियरले गर्नुपर्छ । एकल रुपमा काम गर्ने फ्रिल्यान्सरको पुरै भर पर्दा यदि इञ्‍जिनियर रहेछ भने प्लानिङदेखि सबै काम उसैले गर्दा घरको प्लान नराम्रो बन्‍न सक्छ वा जस्तो बन्‍न सक्थ्यो त्यस्तो नबन्‍न सक्छ । यदि फ्रिल्यान्सर आर्किटेक्ट रहेछ भने घरको स्ट्रक्चर डिजाइन पनि भूकम्पीय हिसावमा सुरक्षित बन्दैन । फ्रिल्यान्सरलाई काम दिँदा कुन काम कसलाई गराएको छु भनेर बिचार पुर्‍याउनु पर्छ । 

५) स्थानीय सरकारको नियम थाहा नपाउनु

हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भवन निर्माण मापदण्ड बनाएका हुन्छन् । त्यो मापदण्ड पहिल्यै थाहा पाउनुपर्छ । नगरपालिकाले कस्तो घर बनाउन दिन्छ ? भनेर थाहा नभएमा पछि दुःख पाउन सकिन्छ । कतिपय नगरपालिका अनुसार नियम पनि फरक–फरक हुन्छन् । 

६) मजदूर/ठेकेदारलाई विज्ञ मान्‍नु 

ग्राहकले गर्ने अर्को गल्ती मजदूर वा ठेकेदारलाई विज्ञ मानेर घरको जिम्मा लगाउनु हो । धेरैले अनुभवि इञ्‍जिनियर/आर्किटेक्टलाई भन्दा ठेकेदारलाई बढी विश्‍वास गरिरहेको पाइन्छ । कतिपयले ठेकेदारको सल्लाहमा आर्किटेकले तयार पारेको नक्सा पनि फेरबदल गर्ने गर्छन् । यो गलत हो । 

७) नचाहिने ठाउँमा खाली राख्‍नु

ट्वाइलेटलाई राख्‍न मिल्ने ठाउँमा नराखी वास्तु लगायतको बाहनामा ठाउँ परिवर्तन गर्दा कतिपय अवस्थामा घरमा खाली ठाउँ राख्नुपर्ने हुन्छ । जसले गर्दा धेरैजसो घरको नक्सा नै बिगार्न सक्छ । त्यसैले फ्लोर प्लान गर्दा दैनिक सुविधा उपयोगको दृष्‍टिले धेरै कुरा प्लान गर्नुपर्छ, वास्तुको भरपर्दा दैनिक उपयोगको दृष्‍टिकोणले असजिलो फ्लोर प्लान बन्‍न सक्छ । 

८) आफै नक्सा कोर्न अघि सर्नु 

इञ्‍जिनियर र आर्किटेक्ट भवन निर्माणका विज्ञ हुन । सही वा गलत, राम्रो वा नराम्रो भन्‍ने ज्ञान इञ्‍जिनियरलाई भन्दा बढी घर मालिक, मजदूर वा ठेकेदारलाई हुँदैन । आफै नक्सा बनाउनु वा यस्तै नक्सा बनाइदिनु भन्‍नु भन्दा पनि आफ्नो आवश्यकता र सोँच यस्तो छ, यसमा के राम्रो र के नराम्रो होला भनी विज्ञको सल्लाह बमोजिम नक्सा बनाउन दिँदा राम्रो हुन्छ । 

आफ्नो इञ्‍जिनियर र आर्किटेक्टलाई विश्‍वास गर्नुपर्छ । तपाइको घर राम्रो बन्दा जस पाउने डिजाइनरले नै हो । त्यसैले एउटा अब्बल इञ्‍जिनियर र आर्किटेक्टले सधै तपाइँको घर राम्रो बनोस् भन्‍ने चाहन्छ ।