fbpx

जीवन जिउन नभई नहुने न्यूनतम आवश्यकता हो, गाँस, बास र कपास । खानको लागि अन्‍न, ओत लाग्‍ने छानो र एकसरो लुगा नभई मान्छेले अरु कुरा सोँच्दैन ।

मान्छे जीवनभर दौडधुप र संघर्ष गर्ने पनि गाँस, बास र कपासकै लागि हो । गाँसपछि मान्छेका लागि नभई नहुने दोस्रो आवश्कता बास हो । 

घर मान्छेको भावनासँग पनि जोडिन्छ, परिवारसँग पनि जोडिएको हुन्छ । जो कोही मानिस कुनै एक ठाउँमा आफ्नै घर होस् भन्‍ने चाहन्छ । तर, पछिल्लो समय मान्छेहरु सेवा सुविधा भएको शहरी क्षेत्रमै घर बनाएर बस्‍ने चाहना राखेर संघर्षरत छन् ।

पैसा कमाएर मात्र हुँदैन । घर बनाउन पनि सही जानकारी हुनुपर्छ । नत्र जीवनभर कमाएको पैसाले बनाएको घर सोँचेजस्तो नहुन पनि सक्छ ।

बजारमा घर बनाउने विभिन्‍न प्रविधि विकास भएका छन् । शहरमा बनाइने घरमा सिमेन्ट र डण्डी प्रयोग गरिन्छ । ग्रामिण भेगमा बनाइने घरमा ढुंगा माटो प्रयोग गरिन्छ । हुन त अहिले गाउँमा पनि आरसिसी प्रविधि नै प्रयोग गर्न थालिएको पनि देखिन्छ ।

यसको अलवा, स्टिल स्ट्रक्चर वा अरु कुनै वैकल्पिक निर्माण सामग्री प्रयोग गरेर पनि घर बनाउन थालिएको छ ।

आज हामी काठमाडौँमा आरसिसी प्रविधिको घरका बारेमा चर्चा गर्दै छौं । 

घर बनाउन ठूलो लगानी र समय लाग्छ । त्यसैले सबै सदस्य जागिरे हुने परिवारले घर बनाउने समय निकाल्न नसक्ने भएकोले बनिबनाउ घर किन्‍न खोज्छन् ।

कतिपयले बनिबनाउ घर किन्दा बलियो र खोजेजस्तो नहुने भन्दै आफै समय निकाल्ने वा भरपर्दो निर्माण कम्पनीलाई पनि जिम्मा दिने गर्नुहुन्छ ।

कतिपयले निर्माण कम्पनिहरुलाई पनि विश्वास नगरि आफै खटिन्छन् । कतिपयले निर्माण कम्पनीको सेवा महंगो भयो भनेर लोकल ठेकेदार खोजेर जिम्मा लगाएको पनि भेटिन्छ ।

के साँच्चै बनिबनाउ घर किन्दा नराम्रो नै पर्ने हो त ? वा, निर्माण कम्पनी वा लोकल ठेकेदारलाई घर बनाउन जिम्मा दिँदा नराम्रो घर बन्छ त ? के आफै खटिँदा मात्र राम्रो घर बन्ने हो ? कि आफैले बनाउँदा झन् नराम्रो बन्छ ? 

घर आफै बनाउने कि किन्‍ने ? वा, आफै बनाउने भए आफै फिल्डमा खटिने कि अरुलाई जिम्मा लगाउने त ?

यो नै सहि हो, अनि यो गलत हो भनेर ठोस जवाफ दिन सकिदैन । घर आफै बनाउने कि किन्‍ने भन्‍ने कुरा आफुसँग भएको बजेटले पनि फरक पार्छ । 

तपाईंले एउटा कुरा के बुझ्‍नै पर्छ भने घर बनाएर बिक्री गर्नेले बिक्री मूल्यमा जग्गाको लागत, घर बनाएको लागत, त्यो लगानीको ब्याज र नाफा पनि जोडेको हुन्छ । 

उदाहरणका लागि, तपाईंले ३ आना जग्गा ३० लाखको दरले किन्नुभयो भने जग्गामै ९० लाख लगानी हुन्छ । त्यसमा ८० लाखमा नक्सा डिजाइनसहित घर बनाए कुल लगानी एक करोड ७० लाख रुपैयाँ पुग्छ । अब घर बनाएर बेच्नेले त्यो सबै लगानीको ब्याज जोड्छ, कम्तिमा १० लाखजति मार्जिन राख्छ ।  १०-१२ लाख ब्याज र २०-२५ लाख नाफा जोड्दा त्यो घरको बिक्री मूल्य लगभग २ करोड ५ लाख रुपैयाँ पुग्छ । घरमा ५ लाखमात्र छुट दिए पनि बिक्री मूल्य २ करोड भयो नै । 

अब हेर्नुस्, तपाई आफैले जग्गा किनेर घर बनाएको भए करिव १ करोड ७० लाखमा जग्गासहित घर बन्ने थियो । तर, त्यही घर अरुले बनाएको रहेछ भने कमसेकम २ करोड खर्च गर्नुपर्ने भयो । आफै बनाउँदा करिव ३० लाख बचत भइहाल्यो । 

यदि तपाईंले ३० लाख रुपैयाँ बढी तिर्न कस्सिनु भयो भने बिनाझन्झट बनिसकेको घरमा सर्न पाउनुहुन्छ । त्यहाँ तपाईंलाई न जग्गा खोज्‍ने झन्झट, न नक्सा बनाएर पास गर्ने, न निर्माण सामाग्री वा ठेकेदार कम्पनी नै खोज्दै झन्झट भयो । 

जग्गा खोज्‍ने देखि घर बनाएर सर्ने बेलासम्म १२ देखि १५ महिना बितिसकेको हुन्छ । त्यो समय तपाई आफ्नो जागिर व्यापारमा लाग्‍नु भयो भने अझ ठूलो रकम कमाउन पनि कमाउन सक्नुहुन्छ । 

त्यहि घर तपाईले कुनै नाम चलेको सुविधा सम्पन्‍न हाउजिङ परियोजनाभित्र किन्‍नु भयो भने कमसेकम साढे दुई करोडबाट मूल्य सुरु होला । अब घर कहाँ किन्‍न‍े, व्यक्तिसँग किन्‍ने कि हाउजिङ कमपनीसँग, त्यो तपाईंले बिचार गर्नुपर्ने कुरा भयो । 

तर, कुरा यहाँ पैसामात्रको आउँदैन, विश्वास र गुणस्तरको पनि आउँछ । घर बनाउँदै बेच्दै गर्ने व्यक्तिसँग कारोबार गर्न धेरैलाई शंका पनि लाग्छ । बेच्‍ने गरि बनाएको घर कमजोर बनायो कि भन्‍ने डर धेरैलाई लाग्छ । केहि हदसम्म यो साँचो पनि हो ।  

अजिरा बिल्डर्स र नेपालहोम्सको संयुक्त टोलीले बेलाबेला काठमाडौँ वरिपरिका कतिपय स्थानहरुमा बनिराखेको र बेच्‍न भनेर बनाएका घरहरु निरिक्षण गर्ने गर्छ । त्यसबेला केहि स्थानहरुमा घर बनाउनेले प्राविधिकको सल्लाह नलिएको र निर्माणको क्रममा केहि महत्वपूर्ण ठाँउहरुमा प्राविधिक त्रुटी पनि गरेको भेट्याएका छौं । 
यस्ता घर किन्‍नु भन्दा आफै घर बनाउन उपयुक्त हुन्छ । 

हाउजिङका घरमा तपाईंले धेरै शंका गर्नुपर्दैन । चल्तीका हाउजिङ कम्पनीले मापदण्ड फ्लो गरेरै घर बनाएका हुन्छन् । तर, हाउजिङमा घर किन्‍नका लागि बजेट पुगेन, आफै खटिएर घर बनाउन समय पनि भएन, प्राविधिक ज्ञान पनि छैन भने निर्माण कम्पनीलाई जिम्मा लगाउँदा एकदमै राम्रो हुन्छ । 

वास्तवमा भरभर्दाे निर्माण कम्पनी छान्‍न सक्नुभयो भने कम मूल्यमै पनि गुणस्तरीय घर बनाउन सक्नुहुन्छ । 

घर किन्दा हाउजिङको किन्‍ने कि बाहिरको ? 

मानौँ, तपाईलाई अलि अर्जेन्ट नै घर चाहियो र करिब १ वर्ष लगाएर घर बनाउने फुर्सद भएन भने बनिबनाउ घर किन्‍ने हो । तर, प्रश्न आयो, कहाँ किन्ने, हाउजिङ परियोजनाभित्र कि बाहिर बनेको ? 

तपाईंको बजेट कति छ ? यदि राम्रै बजेट छ भने हाउजिङको घर किन्‍नु उपयुक्त हुन्छ । कहलिएका हाउजिङ कम्पनीहरुले घर बनाउँदा इन्जिनियरहरुको पूर्ण निरिक्षणमा घरको गुणस्तर मेन्टेन गरेर बनाएका हुन्छन् । प्राविधिकको प्रत्यक्ष निगरानी र इन्जिनियरले नै प्रोजेक्ट म्यानेजमेन्ट गरेको घरको गुण्णस्तरमा शंका गर्नै परेन । 

साथै, हाउजिङभित्र आवासीय वातावरण र त्यहाँको छुट्टै सेक्युरिटी कल्चर र सोसाइटी रुचाउनेका लागि झनै राम्रो भैहाल्यो । 

तर बजेट कम हुनेहरुलाई र हाउजिङमा बस्‍न नखोज्‍नेका लागि अर्जेन्ट घर चाहिएमा बाहिर कै घर किन्‍नुको विकल्प हुन्‍न । बाहिर किन्दा अलि बुझेर कस्तो मान्छेले कसरी बनाएको हो विचार गरेर किन्दा राम्रो हुन्छ । कुनै भरपर्दो कम्पनीले घर बनाएको रहेछ भने ढुक्क भएर किन्‍न सक्नुहुन्छ ।