fbpx

नक्साको डिजाइनले घर निर्माण गर्दा लागतमा पक्कै फरक पार्छ । तर, कसरी फरक पार्छ त ? आज हामी तपाईंलाई नक्सा डिजाइनले निर्माण लागत कसरी फरक पर्छ भनेर विस्तृत जानकारी गराउन गइरहेका छौं ।

साधारण भाषामा भन्‍नुपर्दा, सामान्य आम्दानी भएको एउटा व्यक्तिले आफ्नै घर बनाउन जीवनभरको कमाई खर्च गर्नुपर्छ । कतिपय अवस्थामा एउटा घर जोड्ने सपना बोकेर दौडिँदा दौडिदै उमेरले डाँडो काटिसकेको हुन्छ ।

हामीले घर बनाउनुअघि केही चलाखी गर्न सकेको खण्डमा कम खर्चमै पनि घर बनाउन सक्छौं । तर, त्यसका लागि विज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ । घर निर्माणको काम गर्दै आइरहेका कम्पनीसँग परामर्श लिन सक्छौं । 

हामीले जीवनभरकै कमाई लगाएर बनाएको घर कहिलेकाहीँ आफैलाई मन पर्दैन । बडा मिहेनत र मोटो लगानी गरेर बनाइएको आफ्नै घर किन आफैलाई मन पर्दैन त ? यसमा विशेषगरि दुईवटा कारण हुन्छन् ।

पहिलो कारण

– तपाईंले इञ्‍जिनियर/आर्किटेकको कुरा नसुन्‍नु 

दोस्रो कारण

– इञ्‍जिनियर/आर्किटेकले राम्रोसँग घरको डिजाइन नगरिदिनु । 

यदि तपाईं इञ्‍जिनियर वा आर्किटेकले दिएको सल्ला मान्‍नुहुन्‍न र आफै नक्सा बनाउन तम्सिनुहुन्छ भने घरको डिजाइन बिग्रने ठूलो सम्भावना हुन्छ । र, लागत पनि बढ्न सक्छ ।

उदाहरणका लागि तलको नक्सा हेर्नुहोस् । यो नक्सा राम कार्की (नाम परिवतर्न)का लागि हामी (अजिरा बिल्डर्स)ले बनाइदिएका हौं । यसमा घरको देब्रेपट्टी जग्गा नै बाङ्गो भएकाले घर पनि बाङ्गो बनेको छ । 

यो दुइटा डिजाइनमध्ये पहिलो डिजाइन हामीले बनाएको डिजाइन हो । दोस्रो डिजाइन राम कार्की आफैले बनाउन भन्नुभएको हो । फरक यति हो, दोस्रो डिजाइनमा पहिलोमा भन्दा ३ वटा पिलर बढि छ । 

किन बढि पिलर हालियो त ? राम कार्कीलाई दुईटा पिलरको बिचमा साढे १५ फिट राख्नुहुन्‍न(१४ फिटभन्दा बढि राख्नु हुन्न) भन्‍ने लाग्दो रहेछ । उहाँले कहीँ कतै सुन्‍नुभयो होला । हाम्रो इञ्‍जिनियरहरुले सम्झाउन खोज्दा उहाँले मान्‍नु भएन अथवा भनौँ इन्जिनियरहरुमाथि उहाँलाई त्यति विश्वास लागेन । त्यसैले उहाँको जिद्दिलाई मत्थर पार्न हामीले ३ वटा पिलर थपेर नक्सा पठायौँ । 

अब ११ वटा पिलरले बन्‍ने घरमा १४ वटा पिलर राखेपछि लागत त पक्कै पनि बढ्ने भयो । यसमा ३ वटा बढि पिलर राख्‍न हामीलाई समस्या खासै हौइन, तर प्राविधिक रुपमा अनावश्यक  डिजाइन गर्दा घरको लागत पनि बढेको छ । र, २ वटा रुम पनि पिलरले गर्दा अलि बिग्रेको छ । 

यो त हामी आफैले राम्रो गर्न खोेज्दा पनि नसकेको उदाहरण भयो । अब तलको अर्को नक्सा हेरौँ, यो नक्सा श्यामबाबु ममहर्जन (नाम परिवर्तन )को घरको हो । तलको दुईवटा नक्सामध्ये पहिलो नक्सा श्याम महर्जन आफैले पहिल्यै अन्त कतै बनाइसक्नु भएको रहेछ । र, हामीलाई घर निर्माण गरिदिनुस् भन्दै आउनुभयो ।

हामीले नक्सा हेर्यौँ । केही दिनको मेहनतपछि करिब उती नै क्षेत्रफल भएको दोस्रो नक्सा बनाएर देखायौँ । उहाँले उतिखेर पुरानो नक्सा छोडेर, नक्सा संशोधन गरेर हामीले दिएको बमोजिम नक्साको घर बनाउने निर्णय गर्नुभयो । हाल काठमाडौँ उपत्यकामा यो घर निर्माणाधिन छ । 
यसमा, पुरानो नक्सामा के समस्या थियो त, बुँदागत रुपमा हेरौँ :

१)  पिलरलाई सिधा ग्रिडमा नमिलाइ बनाउनु

पिलर सिधा लाइन मिलाएर बनाइएको प्राविधिक रुपमा अलि उत्तम मानिन्छ । मिल्दै नमिल्ने अवस्था बाहेक हामी बाङ्गो ग्रिड बनाउने सल्लाह दिदैँनौ । 

२) कोठा सानो हुनु र कोठाको आकार–प्रकार बिग्रेको हुनु

यसको बारे त केहि भन्‍नु नपर्ला । पाठकले पहिलो डिजाइनमा रुम एकदम सानो भएको र घरभित्र सर्कुलेसन स्पेस नभएको थाहा पाइहाल्नुभो होला । 

३)  पिलरको सङ्ख्या बढि हुनु

मात्र ६१५ वर्गफिट क्षेत्रफलमा ग्रिड बिग्रेर १३ वटा पिलरको नक्सा बनेकोमा हामीले ग्रिड पनि मिलाएर जम्मा १० पिलरमा बन्‍ने गरि घरको डिजाइन गर्यौँ । कुन डिजाइनन राम्रो लाग्छ यहाँहरु पनि विचार गर्नुहोला ।  

४)  जग्गाको दक्षिणपट्टी मिलेको ठाउँमा पार्किङ राख्नु

सकेसम्म रुमलाई आकार मिलाउन पायो भने डिजाइन राम्रो बन्छ । कोठा बाङ्गो–टेठो रहेछ भने बेड काहाँ राख्‍ने, दराज कता राख्‍ने, त्यसैले हामीले पहिलेको नक्सामा भएको पार्किङ हटाएर ठूलो राम्रो बेडरुम निकाल्यौं । पार्किङ घरको बाहिर उत्तर पश्चिम कुनामा बनाउने विचार गर्यौँ । सर्प पनि मर्ने लाठी पनि नभाँचिने, भएन त काइदा ।

 ५) सानो बाथरुम 

हामी नेपालीले बाथरुमलाई अलि कम नै महत्व दिन्छौ । अध्याँरो हुने ठाँउमा, सानो कुचुक्क परेको बाथरुम बनाउँछौ । ट्वाइलेट, स्‍नान कक्ष भनेको शरिरको विकार फालेर फुर्तिलो हुने ठाउँ हो । खुल्ला, उज्यालो र आरामदायी ट्वाइलेट बनाउनु एकदमै आवश्यक कुरा हो । 

त्यसो भए इन्जिनियर/आर्किटेकले नै बनाएको नक्सामा यति समस्या किन आउँछ त ?

१)   नक्सा बनाउन हतार गर्नुः नक्सा त २-४ दिनमा बनिहाल्छ नि भनेर नक्सा बनाउन आउने धेरैको बानी हुने रहेछ । अनि नक्सा बन्‍न त धेरै दिन लाग्‍ने थाहा पाएपछि “ल हजुर मलाई त १ हप्तामा चाहियो जग हाल्न हतार भयो” भनेर अत्ताउने बानीले गर्दा इन्जिनियर र आर्किटेकले राम्रोसँग काम गर्न पाउँदैनन् । 

२)  सस्तोमा नक्सा खाेज्‍नुः  घर बनाउने हो नक्सा जहाँ बनाए पनि भैहाल्यो नि भन्‍ने मानसिकता देखिन्छ । जसले सस्तोमा नक्सा बनाइदिन्छ उसकैकोमा जाँदा राम्रो डिजाइन नबन्‍न सक्छ । वास्तविक लिनुपर्ने शुल्कभन्दा धेरै सस्तोमा काम गर्नेले कामलाई पनि धेरै महत्व दिने कुरै भएन । 

३)  अनुभव नभएको इन्जिनियर र आर्किटेकले नक्सा बनाउनुः उचित अनुभव नभएका, सिकारु र नयाँ इञ्‍जिनियर र आर्किटेकले डिजाइन गर्दा पनि नक्सा राम्रो बन्दैन । नक्सा बनाउदा कति ज्ञान हुनुपर्छ, के–के कुरामा विचार पुर्याउनुपर्छ, घरधनीको आवश्यकता के हो भन्‍ने कुरा नबुझी डिजाइन गर्दा पनि नक्सा बिग्रिन्छ । 

अब अर्को नक्सा हेरौँ, तलको दुइवटै नक्सा हामीले नै बनाएको हौं । यो नक्सा हरि जिसी (नाम परिवर्तन)को लागि बनाएको हो । यसमा पहिला नक्सा हामीले बनाएर दिएको हो भने विविध कारण ले हरि जिसीले नक्सा परिवर्तन गर्नुभयो । र, अन्तिममा दोस्रो नक्सा बन्यो । कुन नक्सा कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला र पहिलो वा दोस्रो नक्सामा के–कस्तो कमजोरी छन् पत्ता लगाउने जिम्मेवारी पाठकलाई नै सुम्पिएँ । 

नक्सा मुल्यांङ्कन गर्दा कति क्षेत्रफल, कति पिलर, कतिको साइजको कोठा सबै मुल्यांङ्कन गर्नु होला है त ।