fbpx

तपाई आफ्नै निजी सवारीसाधन चढ्नु हुन्छ ? आफ्नो आवश्यकता र आर्थिक अवस्थाअनुसार तपाईसँग मोटरसाइकल वा कार हुन सक्छ । तपाईले सवारीसाधन किन्‍ने बेलामा कति समय कुन किन्‍ने भनेर विचार गर्नुभयो ? कति थरी ब्रान्डका सवारी साधन हेर्नुभयो ? 

तपाईले खरिद गर्न लागेको गाडी वा मोटरसाइकलका अनेक प्राविधिक पक्षहरु पनि हेर्नु भयो होला । कति माइलेज दिन्छ ? कति सिसि इञ्‍जिन क्षमताको हो ? सर्भिसिङ र पार्टपुर्जा कत्तिको महंगो छ ? रिसेल भ्यालु कस्तो छ ? सेफ्टी फिचरहरु के–के छन् ? 

अर्को प्रश्‍न, तपाईसँग भएको सवारी साधन कति वर्ष पुरानो भयो ? र, अझै कति वर्ष त्यहि सवारीमा हुइँकिनु हुन्छ ? फेरी फेरी गाडी चढ्ने सौखिनहरुले बाहेक धेरैले अरुले मोटरसाइकल कम्तीमा ५-७ वर्ष र गाडी ८-१० वर्षसम्म चलाउने गर्छन् । 

अब एउटा ३-४ लाख पर्ने मोटरसाइकल होस् वा ३०-४० लाखको गाडी होस्, करिव ७-८ वर्ष चढ्ने सवारी साधन किन्‍ने बेलामा त यति धेरै बुझेर मात्र लगानी गरिन्छ भने जीवनभरको कमाई लगानी गरेर बनाउने बनाइने सपनाको घर कति बर्षसम्म टिकोस् भन्‍ने लाग्छ । 

केहि अपवाद बाहेक एउटा घरमा कम्तीमा २ वा ३ पुस्तासम्मलाई सोचेर लगानी गरिन्छ । सानै भएपनि काठमाडौं उपत्यकामा ३ आनामा घर बनाउन कमसेकम ७० लाख हाराहारी लगानीको जोहो गर्नुपर्छ । अझ जग्गाको मूल्य अलग्यै भयो । यत्रो लगानी गरेर बनाउने घरमा तपाई के–के सुविधा होस्, कति सुरक्षित र बलियो होस् भन्‍ने चाहना राख्‍नुहुन्छ ? 

गाडी किन्दाजस्तै घर बनाउँदा पनि यति लगानी गरेपछि यति सेवा सुविधााहरु हुनुपर्छ भनेर पक्कै सोँच्‍नुहुन्छ । र, आफ्नो घर सकेसम्म सुरक्षित र राम्रो होस भनेर पनि पक्कै चाहनुहुन्छ ।

घर बनाउने कुरामा गाडी र मोटरसाइकलको कुरा कहाँबाट आयो भनेर सोच्‍नुहोला । यहाँ कुरा घरको वा सवारीको गर्न खोजिएको होइन । कुरा लगानीको हो । विश्‍वभर नै घर भनेको मान्छेको सबभन्दा ठूलो लगानी हो । लगानी गरेपछि डुबियोस् भन्‍ने पक्कै कसैले सोच्दैन । 

अब त्यसो भए लगानी सुरक्षित बनाउने कसरी भन्ने प्रश्‍न आउँछ ।

हामीले नयाँ सवारी साधन खरिद गर्दा आफूलाई ज्ञान नभएमा कोहि जान्‍ने मेकानिक लगेर टेस्ट ड्राईभ गर्न लगाएर उसको राय लिएर खरिद गर्ने गर्छौं । त्यस्तै घर बनाउँदा पनि कस्तो घर बन्दैछ ? राम्रो र सुरक्षित कसरी बनाउने भन्‍ने बारे पनि घरका विशेषज्ञ अथवा इञ्‍जिनियरको सल्लाह लिनु सबैभन्दा बढी बुद्धिमानी हुन्छ । 

‘मैले त एउटा राम्रो ठेकेदार लगाएर घर बनाएको छु, एकदम राम्रो मान्छे छ, मेरो फलानो दाईको पनि उसैले बनाएको हो कस्तो राम्रो बनाएको छ’ हाम्रो अजिरा बिल्डर्समा आउने सेवाग्राहीबाट धेरै यस्तो कुरा सुनिन्छ । होला, तपाईले चिन्‍नुभएको र काम गराउनुभएको ठेकेदार राम्रो हुनुहुन्छ होला । त्यसमा शंका भएन । तर, करोडौं लगानी गरेर बनाउन लागेको घर प्राविधिक विशेषज्ञता नभएका ठेकेदारको भरमा छोडिदिनुहुन्छ त ? 

ठेक्का लिएर काम गर्ने ठेकेदारहरु भवन वा अरु कुनै संरचनाका विशेषज्ञ होइनन् । उनीहरुले एक दुईवटा घर निर्माण गरेको वा कसैले घर निर्माण सम्बन्धि एक दुईवटा तालिम मात्र लिएका हुन सक्छन् । तर तालिम भनेकाे औपचारिक प्राविधिक शिक्षा होइन । कुनै औपचारिक प्राविधिक ज्ञान नभएका मान्छेबाट तपाईले पाउने सल्लाह, परामर्श कस्तो होला ? तपाई आफै अनुमान लगाउनुहोस् ।

भवन निर्माण गर्दा इँटा लगाउने, कंक्रिट बनाउने, मेसिन-उपकरणहरु चलाउने हातहरु तिनै मिस्त्री-लेबरकै हुन् । तर, त्यसमा पेशागत ज्ञान भने इञ्‍जिनियरकै हुन्छ र हुनुपर्छ । मैले कसैलाई अपमान गर्न खोजेको होइन, केवल सम्बन्धित विषयको ज्ञातासँग मात्र त्यसबारे परामर्श लिनु राम्रो हुन्छ भन्‍न खोजेको हुँ । 

अब कुरा गरौं इञ्‍जिनियरले सुपरिवेक्षण गरेको र नगरेको घरमा के फरक हुन्छ त ?

यो प्रश्‍नको एक लाइनमा जवाफ दिनुपर्दा इञ्‍जिनियरले सुपरिवेक्षण गरेको घर निर्माण गुणस्तरीय हुन्छ । गुणस्तर मापन गर्ने स्थान र इकाई धेरै हुन्छन् । जस्तो कि घरमा गैंडा सिमेन्ट प्रयोग भएर मात्र घर बलियो हुने होइन, सहि तरिकाले सिमेन्ट कंक्रिट बनायो भने मात्र कंक्रिटको गुणस्तर राम्रो हुन्छ । 

नाम चलेको र महँगो डन्डी हाल्दैमा घर बलियो हुने होइन । सहि ठाउँमा सहि मात्रामा सहि तरिकाले डन्डी हाल्दा मात्र घरको गुणस्तर राम्रो हुन्छ । कुन ठाउँमा कति डन्डी राख्‍ने भन्‍ने कुरा डिजाइन (घरको नक्सा) अनुसार हुन्छ । हरेका घरमा डिजाइन-नक्सा अनुसार डन्डीको मात्रा फरक फरक हुन्छन् । 

एकपल्ट मेरो एकजना आफन्तको मेरो घर निरिक्षण गर्न आइदिनुहोस् भनेर बोलाएपछि म आफै पुगेर घर निर्माणको स्थिती हेरेँ । जम्मा ९ वटा पिल्लर ढलान गर्न पनि के मिक्सर मेसिनमा खर्च गर्नु भनेर ती आफन्तले ९ हजार रुपैयाँ बचाउनु भएको रहेछ । त्यस्तै, पिल्लर ढलानमा पिल्लर चिप्लो आउँछ भनेर कंक्रिटको अनुपात १ः२ः३ (एक भाग सिमेन्ट, दुई भाग बालुवा र तीन भाग गिट्टी) हुनुपर्नेमा बालुवा बढाएर एक भाग सिमेन्ट, तीन भाग बालुवा र तीन भाग गिट्टी हाल्नुभएछ ।

यस्तै, उहाँले छिमेकी, साथीभाई, परिवार वा अरु कसैको सल्लाहमा नक्साभन्दा फरक हुने गरी पर्खाल लगाउने र कोठाको संरचना धेरै नै परिवर्तन गर्नुभएको रहेछ । मैले त्यस्तो काम भएको देख्दा कोहि इञ्‍जिनियरले निर्माण सुपरिवेक्षण गर्नुभएको छ कि छैन भनेर सोधेँ, उहाँलै छैन भन्‍नुभयो । उहाँले नक्सा डिजाइन गर्ने इञ्‍जिनियरलाई पनि नक्सामात्र बनाउने गरी जिम्मा दिनुभएको रहेछ । त्यहाँ धेरै निर्माणको काम भइसकेको र करेक्सन गर्न पनि सम्भव थिएन । मैले बाँकी निर्माणको काम इञ्‍जिनियरको सुपरिवेक्षणमा मात्र गर्न र आफै अनेक कुरा हेरफेर नगर्न सल्लाह दिएर फर्किएँ ।

काठमाडौंको टोखामा हामीले बनाइदिएको नक्सा डिजाइनबाट घर निर्माण हुदै थियो । त्यहाँ घर धनीले एकजना साथीभाईले रिकमेण्ड गर्नुभएको ठेकेदार लगाएर निर्माण सुरु गर्नुभएछ । एक दिन मलाई फोन आयो । फाउण्डेसनको ढलान गर्ने तयारी हुँदैछ एकपल्ट आएर हेरिदिनुपर्यो । म साइट पुगेँ । समग्रमा सबै काम राम्रै थियो । सफासँग काम गर्नुभएको थियो । डन्डी बाँधेको र फर्माहरु पनि सफासँग चिटिक्क मिलाएर काम भएको थियो । मलाई काम साह्रै मन पर्यो ।

फाउन्डेसन ढलान गर्नका लागि फाउन्डेशनको जाली राखेर पिल्लरको डन्डीहरु ठडाउने काम लगभग सकिएको थियो । मैले साइट पुगेको केहि बेरपछि नक्सा मगाएर हेर्दा एउटा गम्भिर त्रुटि देखेँ । २-३ वटा पिल्लरमा २० एमएमको डन्डी राख्नुपर्ने ठाउँमा १६ एमएमको डन्डी राख्‍नुभएको रहेछ र एक ठाउँमा दुईवटा पिल्लरको डन्डी नै साटिएको रहेछ । यताको उता र उताको यता भएको रहेछ । धन्‍न ढलान भइसकेको थिएन र मैले सबै बिग्रिएको काम सुधार गर्न लगाए । ढलान एक दिनपछि सर्यो तर कामचाहिँ राम्रो भयो ।

गुणस्तर भनेको यहि नै हो । सही ठाउँमा सही तरिकाले डन्डी/कंक्रिट प्रयोग हुनुपर्याे । डन्डी र कंक्रिट मात्र होइन, गुणस्तर मापन अन्य कामबाट पनि हुन्छ । तर, घरको भूकम्पीय सुरक्षामा डन्डी र कंक्रिटको मुख्य भुमिका हुने हुँदा मैले यो दुईवटा कुरालाई बढी छलफलको विषय बनाउने गर्छु ।

निश्‍चय पनि इञ्‍जिनियरमार्फत सुपरिवेक्षण गराउँदा अलिकति खर्च बढ्छ । यसलाई तपाईहरुले केवल खर्चको रुपमा लिनुभयो भने त माथिका मैले चर्चा गरेको घरहरुमा जस्तै तपाईको घरमा पनि कहिँकतै प्राविधिक गडबडी नहोला भन्‍न सकिन्‍न । तपाईको घर निर्माण गर्ने मिस्त्री-ठेकेदारको उद्देश्य पक्कै पनि तपाईको घर बिगार्ने हुँदैन । तर मैले माथि भनेजस्तै प्राविधिक ज्ञान र इञ्‍जिनियरिङ सम्बन्धि औपचारिक ज्ञानको कमीले गर्दा वहाँहरुबाट कहिँ कतै गल्ती हुने सम्भावना रहन्छ ।

इञ्‍जिनियर, ठेकेदार, लेबर र मिस्त्री सबैको सामूहिक लगनबाट मात्र तपाईको घर राम्रो र बलियो बन्‍न सक्छ । तर विडम्बना भनौं, धेरै जस्तो निर्माणस्थलमा कुनै इञ्‍जिनियरको निर्देशन अनुसार काम गर्न मिस्त्री÷ठेकेदारहरुले झन्झट मान्ने गरेको देखिन्छ र सकेसम्म निर्माणस्थलमा इञ्‍जिनियर नआए हुन्थ्यो भन्‍ने सोच्‍ने गरेको पाइन्छ । वास्तवमा इञ्‍जिनियर र लेवर÷मिस्त्रीहरु एकअर्काका दुश्मन होइनन् । तपाईको घर निर्माणका सहकर्मी हुन् । दुबैको आफ्नो आफ्नो भूमिका र महत्व हुन्छ । 

त्यसैले तपाईको घर निर्माण सुरक्षित र गुणस्तरीय बनाउनका लागि प्राविधिक परामर्श इञ्‍जिनियरबाट लिनुहोला । समय समयमा इञ्‍जिनियरबाट घरको निरिक्षण गराउनुहोला र आफ्ना कामदारलाई पनि इञ्‍जिनियरहरुले दिएको सल्लाहअनुसार घर बनाउन भन्‍नुहोला । तपाईको घर आखिर तपाईकै लगानीबाट बन्‍ने हो । लगानी सुरक्षित बनाउनको लागि सचेत हुनुहोला ।

Contact Us
Contact Info
img

Address

New Baneshwor, Kathmandu

Phone

+977-01-47 97 022